सम–सामयिक

बुङ्गमतीका दयाराम : ५३ बेसहारा बालबालिकाका एक्लो ‘बा’

‘उनीहरूका कोही छैनन्, मैले नहेरे कसले हेर्छ ?’

अशोक महर्जन

काठमाडौं, १६ भदौ– उनी जहिल्यै बालबालिकाहरुको हेरचाहमा तल्लीन छन् । बालबालिकाको लालनपालन र शिक्षा दिक्षा उनको दैनिकी हो । र, उनी ५३ जना बालबालिकाका एक्ला ‘बा’ हुन् ।

[caption id="attachment_26588" align="alignright" width="800"]dayaram-disable1                                                                                      बेसहारा बालबालिकाका साथमा दयाराम [/caption]

ललितपुर बुङगमतीका दयाराम महजर्न पेशाले शिक्षक हुन् । ५३ असहाय बालबालिकाको लागि बुवाको भूमिका निर्वाह गरिरहेका छन् । भलै, उनले यी बच्चा जन्माएका त हैनन्, तर बुवाको भूमिका निर्वाह गरिरहेका छन् ।

दृष्टिबिहीन, कान नसुन्ने, शारीरिक रूपमा अशक्त ५३ बालबालिकालाई महर्जनले रेखदेख र लालनपालन गर्दै आएका छन् । पारिवारिक रूपमा समेत अपहेलित उनीहरूका एक्लो अभिभावक हुन्, महर्जन् ।

अशक्त बालबालिकाको लालनपालनमा जुटेका उनलाई केही दाताले सहयोग पनि गर्छन् । दाताले सहयोग गर्ने चामल, खाद्यान्न, लत्ताकपडाकै भरमा उनले बालबालिकाको खर्च पनि चलाउँछन् ।

स्थानीय आदर्श सौल विद्यालयमा उनले ०४६ सालमा ब्रेललिपी पनि सिके । आफ्नो लागि हैन, अरूकै लागि । विद्यालयमा भर्ना हुन आएका दृष्टिविहीन बिद्यार्थीलाई सिकाउनकै लागि उनले ब्रेल लिपी सिकेका हुन् । शायद, त्यही घटनाको कारण उनको सोच बालबालिकाको सेवामा केन्द्रित भयो ।

[caption id="attachment_26586" align="alignright" width="800"]dayaram-disable 3 दृष्टिविहीन विद्यार्थीहरु ब्रेललिपिमा पढ्दै[/caption]

दृष्टिविहीन विद्यार्थीलाई कुनै पनि व्यवस्था थिएन, स्कुलमा । कार्यालयमै राखेर पढाउँथे, महर्जन । त्यही बेला उनले बे्रल लिपी पनि सिके, विद्यार्थी पनि पढाए । यत्तिमै उनको यात्रा रोकिएन, २०५० सालमा विद्यालयमा कान नसुन्ने विद्यार्थी भर्ना हुन आएपछि राष्ट्रिय अपाङ्ग महासंघमा सांकेतिक भाषा पनि सिके ।

शारीरिक अशक्तता भएका विद्यार्थीहरूलाई सिकाउनकै लागि उनी विभिन्न संघसंस्थामा तालिमका लागि धाउन थाले । २०५४ सालदेखि उनले ललितपुरका खोकना, बुंगमति, भैंसेपाटी, छम्पी, सेतीदेवी, डुकुछापलगायतका ६ गाविसका घर –घरमा गएर शारीरिक अशक्तता भएका दुई सय ७४ बालबालिकाको लगत संकलन पनि गरे ।

[caption id="attachment_26587" align="alignright" width="800"]dayaram-disable सांस्कृतिक कार्यक्रममा बालबालिकाहरु[/caption]

घटना यस्तो सम्म पनि घट्यो, अशक्त बच्चाहरू खोज्ने क्रममै बडिखेलमा पाँच वर्षका अशक्त बालक घिस्रिरहेको देखे । बाबु आमाले छिमेकीले देख्ने डरले गोठमा बन्द गरेर रोखका थिए, उनलाई । उनको मनले मानेन, अभिभावकसँग कुरा गरेर लालनपालन गर्ने सर्तमा बुङ्गमतीमै राख्न सुरु गरे ।

महर्जनले त्यो बेला कार्यविनायक मन्दिर परिसरकै एउटा कोठामा बच्चाहरूलाई राखेर लालनपालनको व्यवस्था मिलाएका थिए । घटना अर्को पनि घट्यो, कुपण्डोलमा सुकुम्बासी बस्ती दृष्टिविहीन बालक भेटिए, सञ्जीव थापा । उनलाई बाँधेर राखेका थिए, अभाभावकले । थापालाई पनि महर्जनले आफैसँग लिएर लालन पालन गर्न थाले ।

यसरी सुरु गरेका थिए, उनले अशक्तता भएका बालबालिकाहरुको लालनपालन । यी दुई बच्चाबाटै उनले बालबालिकाको स्याहार सुसार सुरु गरेका हुन् ।पाँच वर्षदेखि २३ वर्ष उमेरसम्मका बालबालिका महर्जनसँगै छन् ।

‘मेरा बच्चालाई त घरमा परिवारले हेर्छन, यिनीहरूलाई हेर्ने कोही छैनन्,’ महर्जनले लोकान्तरसँग भने, ‘उनीहरूसँगै बस्छु, उनीहरू कै कुरा सुन्छु । मलाई मेरो परिवार भनेकै यी बच्चाहरू हुन जस्तो लाग्छ ।’

[caption id="attachment_26589" align="alignright" width="800"]dayaram-disable2 दृष्टिविहिन बालक कम्प्युटर चलाउँदै[/caption]

काम गर्न अप्ठ्यारै थियो । मन्दिर परिसरमा बच्चाहरुको विजोग गराउन नहुने भनेर स्थानीयले विरोध गरे । उनले बच्चाहरू त्यहाँबाट उठाएर आफैले एउटा कोठा भाडामा लिएर अभिभावकत्व प्रदान गरिरहे । मन्दिरमा आउने भक्तजनले दिएको दान र लत्ताकपडा, चामलले उनको कामलाई थप टेवा मिल्यो ।

अहिले भने उनले सञ्चालन गरेको उक्त पारिवारिक घर, अपाङ्ग सेवा संघमा परिणत भएको छ । आधुनिक भवनमा सरेको छ । रामेछाप, धादिङ, बाग्लुङ, हुम्ला गरी ५३ जना शारीरिक अशक्त बच्चाहरूलाई पढाउने र लालनपालको काम उनले गरिरहेका छन् ।

२२ जना दृष्टिविहीन, २२ कान नसुन्ने र नौ जना शारीरिक रूपमा अशक्त बच्चाहरू महर्जनसँगै छन् । अशक्तता भएका बालबालकालाई ललितपुरको आदर्श सौलः माबिले निःशुल्क पढाइरहेको छ । ‘बिहान स्कूले पोशाकमा चिटिक्क परेर विद्यालय जान्छन्,’ महर्जन भन्छन्, ‘फर्केर अपाङ संघमै आउँछन्, त्यसरी नै उनीहरूको दैनिकी वित्छ ।’

[caption id="attachment_26590" align="alignright" width="800"]dayaram-disable3 पाठ्यपुस्तक अध्ययन गर्दै एक किशोरी[/caption]

बालबालिका पढेर मात्रै बसेका छैनन् । तबला, मादल, बासुरीलगायतका सामग्रीसहित नाचगानमा पनि रमाउँछन् । साधारण मानिसले जस्तै उनीहरूले पनि आफ्नो कला देखाउन सक्छन् । आउँदो भदौ २५ गते काठमाडौंको फर्पिङमा हुने सांस्कृतिक प्रतियोगितामा पनि उनीहरू भाग लिँदैछन् ।

कान नसुन्ने बालबालिका चित्रकला सिक्दै गरेका भेटिन्छन् । महर्जनले सोचेका छन्, समाजमा स्थापित हुनका लागि कुनै न कुनै सीप बालबालिकालाई सिकाउनुपर्छ । महर्जनले बालबालिकाले यहाँ बस्दा आफ्नो पीडा र घर समेत भुल्ने बताउँछन् । बाहिर निकै अपहेलना बेहोरेका उनीहरू यहाँ निकै सम्मानका साथ बसेका छन् ।

यहीँ बसिरहेका रामेछाप डाङडुङ्गेका दृष्टिविहीन विजय तामाङले साथीहरूसँग बसेर पढ्दा निकै रामाइलो हुने अनुभव सुनाए । उनले आफू भविष्यमा शिक्षक बनेर समाज सेवा गर्ने बताउँछन् ।

बालबालिकाहरूले महर्जनलाई बुवा भनेरै बोलाउँछन् । बुवाको नाम लेख्नुपर्ने ठाउँमा महर्जनकै नाम लेख्छन् । जन्मदिने बाबु अर्कै भए पनि कर्म दिने बुबा महर्जनलाई नै मान्छन्, उनीहरू । बालबालिकासँग दिन विताइरहेका महर्जन पनि निकै खुसी छन् ।

बिहीवार १६ भदौ २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस